आज रामनवमी : देशभर सार्वजनिक बिदा, श्रद्धा–भक्तिपूर्वक पूजा आराधना

३ हप्ता अगाडि
आज रामनवमी : देशभर सार्वजनिक बिदा, श्रद्धा–भक्तिपूर्वक पूजा आराधना

काठमाडौं । चैत्र शुक्ल नवमीका अवसरमा मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् श्री रामचन्द्रको जन्मोत्सवका रूपमा यो पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

धार्मिक मान्यताअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका पुत्रका रूपमा भगवान् रामचन्द्रको जन्म आजकै दिन भएको मानिन्छ। उनलाई भगवान् विष्णुको सातौँ अवतारका रूपमा पूजिन्छ।

रामनवमीको दिन देशभरका राम मन्दिरहरूमा विशेष पूजाआजा, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गरिन्छ। भक्तजनहरू व्रत बस्ने, रामायण वाचन गर्ने र दिनभरि भगवान् रामको आराधनामा लाग्ने परम्परा छ। विशेषगरी रामजानकी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ, जहाँ नेपाल र भारतबाट आएका श्रद्धालुहरूको घुइँचो लाग्छ।

यस पर्वले असत्यमाथि सत्यको विजय र धर्मको स्थापना भएको सन्देश दिने विश्वास गरिन्छ। भगवान् रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी आदर्श ‘रामराज्य’ स्थापना गरेको धार्मिक विश्वास छ, जसले आजका दिनसम्म पनि मर्यादित र अनुशासित जीवनको प्रेरणा दिने गर्दछ।

धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी मनाउनुको मुख्य सन्देश मर्यादा, अनुशासन र नैतिकतामा आधारित समाज र राज्यको कामना गर्नु हो। यस दिन श्रद्धापूर्वक पूजा, जप, ध्यान र व्रत गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।