काठमाडौँ । डोनाल्ड ट्रम्प ले इरानका ऊर्जा संरचनामाथि हुने सम्भावित आक्रमण १० दिनका लागि स्थगन गरिएको घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।
ट्रम्पका अनुसार इरानको अनुरोधपछि वार्तालाई निरन्तरता दिन यस्तो निर्णय लिइएको हो। अब आगामी अप्रिल ६ राति ८ बजेसम्म (अमेरिकी समय) इरानका ऊर्जा प्रतिष्ठानमा कुनै सैन्य कारबाही नगर्ने बताइएको छ।
यो एक हप्ताभित्र ट्रम्पले आक्रमण स्थगन गरेको दोस्रोपटक हो। यसअघि पनि उनले एक साताका लागि आक्रमण नगर्ने बताएका थिए, जसको समय शुक्रबार सकिएको थियो।
उनले अमेरिका–इरानबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै यस निर्णयलाई कूटनीतिक समाधानतर्फको महत्वपूर्ण संकेतका रूपमा प्रस्तुत गरेका छन्।
यता बेन्जामिन नेतन्याहु भने अमेरिका र इरानबीच सम्भावित सहमतिको अवस्थालाई लिएर चिन्तित देखिएका छन्। मध्यपूर्वको बदलिँदो समीकरणले इजरायललाई रणनीतिक दबाबमा पार्ने आँकलन गरिएको छ।
हालको अवस्था हेर्दा दुबै देशबीचको संवादलाई प्राथमिकता दिइएको स्पष्ट देखिन्छ भने यसले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा पनि गरिएको छ।