सुनचाँदीको मूल्यमा फेरि गिरावट : सुन तोलामा ४६ सय घट्यो, चाँदी पनि सस्तो

३ हप्ता अगाडि
सुनचाँदीको मूल्यमा फेरि गिरावट : सुन तोलामा ४६ सय घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ। पछिल्ला दिनहरूमा निरन्तर ओरालो लागिरहेको सुनको भाउ आज पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले घटेर दुई लाख ८१ हजार रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सुनको भाउ दुई लाख ८५ हजार ६ सय रुपैयाँ थियो।

यसअघि बुधबार सुनको मूल्य उल्लेख्य रूपमा बढे पनि त्यसपछि लगातार दुई दिन घट्दै आएको छ। गत साताभरिमा सुनको मूल्य करिब ३६ हजार रुपैयाँले घटिसकेको छ।

यस वर्ष माघ १५ गते भने सुनको मूल्य एकैदिन ठूलो वृद्धि भई तोलाको तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च बिन्दु हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५० रुपैयाँले घटेर चार हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्यमा पनि यसअघि उल्लेख्य उतारचढाव देखिएको थियो। माघ महिनामा एकैदिन ठूलो गिरावट आएको थियो भने सोही अवधिमा उच्च मूल्यसमेत कायम भएको थियो।

सुनचाँदी बजारमा पछिल्ला दिनहरूमा देखिएको उतारचढावले लगानीकर्ता र व्यवसायीहरूलाई सतर्क बनाएको छ।