रुद्रकली र खगेन्द्रप्रसाद नामका दुई हात्ती कतार पुगे

३ महिना अगाडि
रुद्रकली र खगेन्द्रप्रसाद नामका दुई हात्ती कतार पुगे

भैरहवा । नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप दिएको जोडी हात्ती दोहा पुगेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका जोडी हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप पठाएको हो। कतारको चिडियाखानाको लागि लगिएका रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा अन्र्तराष्ट्रिय विमानस्थलबाट दोहा पुगेका हुन् ।

२०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमणका क्रममा नेपालले दुईवटा हात्ती उपहार स्वरुप दिने प्रतिबद्धता जनाएकी थिइन्। कानुनी प्रक्रिया पूरा गर्दा हात्ती पठाउन ढिलो भएको थियो ।

२०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा हो खगेन्द्रप्रसाद। खगेन्द्रप्रसाद अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो। ६ वर्ष पुग्नै लागेको खगेन्द्रलाई जदुसिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आएका छन्। 
 
कोशीकलीले जन्म दिएपछि खगेन्द्रलाई तालिम केन्द्रमा राखेर प्रशिक्षण दिइएको थियो। हात्ती प्रजनन् तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रमध्येको एक खगेन्द्रप्रसादले पर्यटकहरूलाई फूलमाला लगाइदिएर आशीर्वाद दिनुका साथै नमस्ते र ढोग गर्ने गरेको माहुतेहरूको भनाइ छ।