काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वमा बन्न लागेको १६ सदस्यीय मन्त्रिपरिषद्मा महिलाको उल्लेखनीय सहभागिता देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गठन गर्न लागेको मन्त्रिपरिषद्मा ५ जना महिला मन्त्री समावेश गरिएका छन्।
दलित समुदायबाट प्रतिनिधित्व गर्दै सीता वादी मन्त्री बन्नु यस मन्त्रिपरिषद्को विशेष पक्षका रूपमा हेरिएको छ। उनीसँगै अन्य महिलाहरूले पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन्, जसले सरकारमा लैङ्गिक समावेशितालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
रास्वपाले सार्वजनिक गरेको विवरणअनुसार सोबिता गौतम लाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बन्ने भएकी छन्। यस्तै गीता चौधरी कृषि मन्त्रालयको नेतृत्व गर्नेछिन्।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सीता वादी लाई दिइएको छ भने स्वास्थ्य मन्त्रालयको नेतृत्व निशा मेहता ले सम्हाल्ने निर्णय गरिएको छ।
यस मन्त्रिपरिषद्मा महिलालाई शक्तिशाली र प्रभावशाली मन्त्रालयहरू सुम्पिनु वर्तमान राजनीतिक परिदृश्यमा सकारात्मक सन्देशका रूपमा लिइएको छ। नयाँ सरकारबाट सुशासन, समावेशिता र प्रभावकारी सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको छ।