बालेनको पुर्ख्यौली गाउँ एकडारामा हर्षोल्लास

३ हप्ता अगाडि
बालेनको पुर्ख्यौली गाउँ एकडारामा हर्षोल्लास

जनकपुरधाम । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि उनको पुर्ख्यौली गाउँ महोत्तरीको एकडारामा उत्सवमय वातावरण देखिएको छ। गाउँभरि खुसी साटासाट गर्दै स्थानीयवासी मिठाई बाँड्ने र दीपावली गर्ने तयारीमा जुटेका छन्।

एकडारामा बस्ने ६५ वर्षीया मान्तीदेवी पासवानले बालेनको बाल्यकाल सम्झिँदै अहिलेको सफलता आफूहरूका लागि गर्वको विषय भएको बताइन्। उनका अनुसार सानो छँदा बालेनलाई काखमा राखेर खेलाएको स्मरण अझै ताजै छ। “धेरै खुसी लागेको छ, बालेन प्रधानमन्त्री बन्दैछन् भन्ने सुन्दा निकै आनन्द लागेको छ,” उनले भनिन्।

स्थानीयवासीहरूका अनुसार बालेन प्रधानमन्त्री बन्ने खबर आएपछि गाउँमा उल्लास बढेको छ। कतिपयले घरघरमा मिठाई बाँडिरहेका छन् भने अरूले दीप प्रज्वलन गरेर उत्सव मनाउने तयारी गरिरहेका छन्।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेपछि बालेन्द्र शाह संसदीय दलको नेता चयन भएका थिए। त्यसलगत्तै उनले शीतल निवासमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका हुन्।