मध्यपूर्व युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघको अपिल

३ हप्ता अगाडि
मध्यपूर्व युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघको अपिल

न्युयोर्क । एन्टोनियो गुटेरेस ले अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सबै पक्षलाई संयमता अपनाउन र तत्काल हिंसा रोक्न आह्वान गरेका हुन्।

मध्यपूर्वको पछिल्लो अवस्थाबारे सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानलाई पनि आफ्ना छिमेकी राष्ट्रहरूमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। उनका अनुसार जारी द्वन्द्वका कारण मानवीय पीडा गहिरिँदै गएको छ भने सर्वसाधारणको हताहती निरन्तर बढिरहेको छ।

संयुक्त राष्ट्र संघ प्रमुख गुटेरेसले युद्धका कारण विश्वव्यापी अर्थतन्त्रमा समेत गम्भीर असर परेको उल्लेख गर्दै यसले दीर्घकालीन अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

उनले अहिलेको अवस्था युद्ध अन्त्य गरेर शान्ति प्रक्रियातर्फ अघि बढ्न उपयुक्त समय भएको बताएका छन्। अन्तर्राष्ट्रिय समुदायलाई पनि तनाव कम गर्न र संवादमार्फत समाधान खोज्न सक्रिय भूमिका खेल्न उनले आग्रह गरेका छन्।