काठमाडौँ । स्वर्णिम वाग्ले ले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै महत्वपूर्ण नीतिगत निर्णय गरेका छन्। उनले राजस्व अनुसन्धान विभागसहित करिब १५ वटा ऐन खारेज गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।
साथै, चालु आर्थिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्न १३ चैतसम्मको आर्थिक स्थितिसम्बन्धी श्वेतपत्र (ह्वाइटपेपर) तयार पार्न पनि कार्यदल बनाइने उनले जानकारी दिए।
मन्त्री वाग्लेले रास्वपाको वाचापत्रमा उल्लेख गरिएका आर्थिक सुधारका एजेन्डालाई कार्यान्वयनमा लैजान कार्ययोजना बनाउन आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसका आधारमा पुराना र जटिल कानुनहरू संशोधन वा खारेज गर्ने दिशामा अध्ययन अघि बढाइनेछ।
उनले आगामी दिनमा बजेट निर्माण, निजी क्षेत्रको सुरक्षा तथा लगानीमैत्री वातावरण सिर्जना, र ठूला आयोजना तीव्र गतिमा अघि बढाउने विषयमा सरकार केन्द्रित हुने बताए।
हाल अर्थतन्त्रमा केही शिथिलता देखिए पनि सकारात्मक संकेतहरू समेत रहेको उनको भनाइ छ। राजस्व संकलन चुनौतीपूर्ण भए पनि बैंक निक्षेप वृद्धि भएको उल्लेख गर्दै उनले प्रणालीगत समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य रहेको बताए।
मन्त्री वाग्लेले सुधार प्रक्रियामा समय लाग्न सक्ने बताउँदै धैर्यताका साथ सरकारको प्रयासलाई साथ दिन नागरिकलाई आग्रह गरेका छन्।