काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको गुण्डुस्थित निजी निवासबाटै नियन्त्रणमा लिइएका ओलीलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँ लगिएको जनाइएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउअघि नै गुण्डु क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। ओलीलाई लैजाँदा उनका समर्थकहरूले नाराबाजीसमेत गरेका थिए। राष्ट्रियसभा सदस्य रामकुमारी झाक्री लगायतका नेताहरू घटनास्थलमा उपस्थित रहेका थिए।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखक लाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ। सरकार स्रोतका अनुसार यी कारबाहीहरू जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा अगाडि बढाइएको हो।
नयाँ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन तत्काल लागू गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार तत्कालीन सरकारका केही उच्च पदाधिकारीविरुद्ध कानुनी प्रक्रिया सुरु गरिएको बताइएको छ।
सरकारले तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रमुख जिल्ला अधिकारीसमेतलाई प्रतिवेदनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।