ओली पक्राउपछि एमाले सचिवालय बैठक जारी, आगामी रणनीति तय हुँदै

२ हप्ता अगाडि
ओली पक्राउपछि एमाले सचिवालय बैठक जारी, आगामी रणनीति तय हुँदै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको आधिकारिक धारणा बनाउन एमाले सचिवालय बैठक बसिरहेको छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बिहानदेखि जारी बैठकले पार्टीको रणनीति र सम्भावित आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ।

पार्टी सचिव महेश बस्नेत का अनुसार बैठकले अध्यक्ष पक्राउ प्रकरणबारे स्पष्ट धारणा सार्वजनिक गर्ने र आवश्यक परे संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। बैठकमा उपाध्यक्ष रामबहादुर थापा तथा महासचिव शंकर पोखरेल लगायतका शीर्ष नेताहरू सहभागी छन्।

पूर्वप्रधानमन्त्री ओलीलाई जेनजी आन्दोलनमा भएको भनिएको हिंसात्मक दमनसँग सम्बन्धित अभियोगमा शनिबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई प्रारम्भिक रूपमा काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको थियो।

स्वास्थ्य परीक्षणका लागि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना गरिएको छ, जहाँ ‘रेड जोन’ अन्तर्गत विशेष निगरानीमा राखिएको जनाइएको छ। स्वास्थ्य अवस्था मूल्यांकनपछि उनलाई कहाँ राख्ने भन्ने विषयमा निर्णय गरिने प्रहरीले जनाएको छ।

यसै प्रकरणमा संलग्न आरोपमा पक्राउ परेका कांग्रेस नेता रमेश लेखक लाई भने स्वास्थ्य परीक्षणपछि महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ।

ओली पक्राउ प्रकरणले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ भने आगामी दिनमा यसले थप राजनीतिक ध्रुवीकरण र आन्दोलनको अवस्था सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।