काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली को रिहाइ माग गर्दै एमाले कार्यकर्ताले शनिबार काठमाडौँको चाबहिल क्षेत्रमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले “अध्यक्ष ओलीलाई रिहा गर”, “प्रतिशोधपूर्ण कारबाही बन्द गर”, “दोषीमाथि कारबाही गर” जस्ता नारा लगाउँदै विरोध जनाइरहेका छन्। उनीहरूले विभिन्न घटनामा संलग्नलाई कारबाही गर्नसमेत सरकारसँग माग गरेका छन्।
जेनजी आन्दोलनका क्रममा भएको भनिएको हिंसात्मक दमनसँग सम्बन्धित अभियोगमा तत्कालीन प्रधानमन्त्री ओलीलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखक लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउपछि ओलीलाई प्रारम्भिक रूपमा काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याइएको छ, जहाँ उनलाई ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ।
प्रहरीका अनुसार स्वास्थ्य परीक्षणपछि उनलाई कहाँ राख्ने भन्ने विषयमा निर्णय गरिनेछ।
उता, ओली पक्राउ प्रकरणबारे आधिकारिक धारणा बनाउन एमालेको सचिवालय बैठक पनि शनिबार बिहानदेखि जारी छ। पार्टीले आगामी रणनीति र सम्भावित आन्दोलनका कार्यक्रम तय गर्ने तयारी गरेको बताइएको छ।