काठमाडौँ । नेकपा (एमाले) सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध कानुनी र राजनीतिक दुवै माध्यमबाट सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार बिहान ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको पार्टी सचिव महेश बस्नेत ले जानकारी दिएका छन्।
बैठकले तय गरेका प्रमुख कार्यक्रमहरू यस्ता छन्:
ओलीको रिहाइको माग गर्दै आम नागरिक र नागरिक समाजसँग सहकार्य गरी कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने
आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने
भोलि (चैत १५) १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने
लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य दल, नागरिक समाज तथा आम जनतासँग संवाद र सहकार्य अघि बढाउने
एमालेले ओली पक्राउलाई राजनीतिक पूर्वाग्रह प्रेरित कदमको रूपमा व्याख्या गर्दै त्यसको सशक्त प्रतिकार गर्ने संकेत दिएको छ। पार्टीको यो निर्णयसँगै आगामी दिनमा देशभर आन्दोलन थप चर्किने सम्भावना देखिएको छ।