काठमाडौँ । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली को गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी ठहर गर्दै तत्काल रिहाइको माग गरेको छ।
शनिबार बिहान च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकाल्दै भोलिदेखि देशव्यापी आन्दोलन गर्ने निर्णयसमेत गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव शंकर पोखरेल ले पार्टी निकट संगठनहरूले आजैदेखि विरोध प्रदर्शन सुरु गर्ने जानकारी दिए।
उनका अनुसार आइतबार देशभरका जिल्ला समितिहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
एमालेले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोग प्रति असहमति जनाउँदै नयाँ आयोग गठन गर्नुपर्ने माग पनि अघि सारेको छ। पार्टीले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्ने बताएको छ।
एमालेले ओलीको गिरफ्तारीलाई नियोजित र कानुनी राज्यको सिद्धान्तविपरीत कदमको रूपमा व्याख्या गर्दै यसविरुद्ध अन्य राजनीतिक दलहरूसँग समन्वय गरेर थप आन्दोलनका कार्यक्रम अघि बढाउने संकेत गरेको छ।
यस घटनाक्रमले देशको राजनीतिक वातावरण थप तनावपूर्ण बन्ने देखिएको छ।