कांग्रेस १५औँ महाधिवेशन अनिश्चित

३ महिना अगाडि
कांग्रेस १५औँ महाधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अनिश्चत जस्तै भएकोछ । महामन्त्री गगन थापाले सोमबारमात्र अबको पार्टी सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरे । तर, क्रियाशिल सदस्यता वितरण अन्तिम टुंगो नलाग्दा कांग्रेसको महाधिवेशन तोकिएकै मिति पुस २६ गते हुनसक्छ त ? प्रश्न उठ्नथालेको मात्र छैन्, नेताहरु नै महाधिवेशन हुँदैन भन्न थालेका छन् ।

महामन्त्री थापामाथि पनि प्रश्न उठ्छ, क्रियाशिल सदस्यता केन्द्रीय छानबिन समितिका संयोजक महामन्त्री थापा नै छन् । कहाँ समस्या हो र कस्तो समस्या हो ? यो छुट्याएर समाधान खोज्नुपर्ने मत पनि आउन थालेको छ । महामन्त्री थापाले तोकिएकै मिति पुस २६ देखि २८ गतेसम्म महाधिवेशन हुने गरी काम गर्न निर्देशन दिन आवश्यक छ । थापाले सभापतिको उम्मेदवारी घोषणा गरिरहँदा महाधिवेशन कार्यतालिका कार्यान्वयनको प्रगतिबारे पनि जानकारी गराउन आवश्यक छ । उता, क्रियाशील सदस्यता विवादमा अल्झिएको कांग्रेस समाधानमा अघि बढेको देखिदैन । त्यसैले होला, सभापतिका अर्का दाबेदार नेता शेखर कोइरालाले विराटनगर पुगेर एक–दुईदिन महाधिवेशन सर्ने बताए । उनले क्रियाशील सदस्यता वितरणमा प्रश्न उठाए ।

नेता कोइरालाले सदस्यता वितरणबारे स्वास्थ्यलाभ गरिरहेका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरे । तर, कोइरालाले समाधानका उपाय सुझाएको देखिएको छैन । एउटा गुट चलाइरहेका कोइरालामा पनि विवाद समाधानको दायित्व नभएको होइन । बखेडा झिक्न कांग्रेसमा अरु नेताहरु पनि कम छैनन् । सात भाइ भनेर चिनिने देउवा निकट नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशशरण महत र विजय गच्छदारहरुले पनि समाधानका लागि कुनै पहल गरेको देखिदैन । 

बरु, विवाद बढाउने काम गरेको कतिपय कांग्रेस नेता/कार्यकर्ता बताउँछन् । गएको असोज २८ गतेबाट सुरुभएको कांग्रेस केन्द्रीय समिति बैठक मंसिर १५ गतेसम्म चल्यो । महाधिवेशनका लागि रस्साकस्सी भएको यो बैठकमा यी सात भाइ २०८३ बैशाखको मितिमा एकमत देखिए । सहमहामन्त्री महेन्द्र यादवले त्यस्तै खाले प्रतिवेदन पेश गरे । त्यसैले सात भाइको समूह महाधिवेशन धकेल्न प्रयत्नशील छ । अब महाधिवेशन तोकिएकै मितिमा गर्ने हो भने कांग्रेस नेताहरु एकमत हुनुको विकल्प छैन ।