पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेस भित्र आन्तरिक छलफल तीव्र बनेको छ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शशांक कोइराला निकट समूहका नेताहरू ठमेलस्थित एक होटलमा बैठकमा जुटेका हुन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का को अगुवाइमा भइरहेको छलफलमा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बलबहादुर केसी, एनपी साउद र मिनेन्द्र रिजाल लगायत सहभागी छन्।
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो। स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पताल मा राखिएको छ भने लेखकलाई प्रहरी हिरासतमा राखिएको जनाइएको छ।
यस घटनालाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने जनाएको छ। यता, एमाले कार्यकर्ताहरू विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका छन्।