भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा शनिबार बिहान काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको हाईस गाडी ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा उदयपुर त्रियुगा नगरपालिका–११ का करिब ८६ वर्षीय गोरे राई गम्भीर घाइते भएका छन्। ब्रेक फेल भएपछि उनी गाडीबाट हाम फाल्दा पछाडिको टायरले कुल्चिएको जनाइएको छ।
यसैगरी स्थानीय ६२ वर्षीया हर्कमाया राई र त्रियुगा नगरपालिका–१० का शम्भु कटुवाल पनि घाइते भएका छन्। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ भने अन्य यात्रु सामान्य घाइते भई आफैं उपचारका लागि गएका छन्।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटिएर उद्धार गरिएको थियो। गाडीमा चालकसहित १० जना सवार थिए।
दुर्घटनामा गाडीमा क्षति पुगेको भए पनि सडक अवरुद्ध भएको छैन। चालक भने घटनापछि सम्पर्कविहीन रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।