काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लाई महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल को 'एनेक्स वान' भवनस्थित बेड नम्बर ५०१ मा राखिएको छ।
अस्पतालका अनुसार उनलाई क्याबिनसहितको आइसोलेसन वार्डमा राखिएको छ। मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी भएकाले र हिरासतको तनावले स्वास्थ्यमा थप जटिलता आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै विशेष निगरानीमा राखिएको हो।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार ओलीको मुटुको अवस्था पनि परीक्षण गरिएको छ। परीक्षणका क्रममा मुटुको धड्कनमा सामान्य उतारचढाव देखिएकाले कार्डियोलोजिस्टको निगरानीमा २४ घण्टा राख्न सकिने बताइएको छ।
शनिबार बिहान गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ओलीलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखक लाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीले दुवै जनालाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। उता, एमाले नेताहरूले भने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै विरोध कार्यक्रम सुरु गरिसकेका छन्।