काठमाडौँ । नेकपा (एमाले)का कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आक्रोशित प्रदर्शन गरेका छन्। शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बाहिर कार्यकर्ताले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन्।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै नाराबाजी गरेका थिए।
यसैबीच, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ। भृकुटीमण्डप र माइतीघर क्षेत्रमा गरिएको प्रदर्शनमा कार्यकर्ताले टायर बाल्दै अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले आयोगको प्रतिवेदन जलाउँदै पक्राउलाई पूर्वाग्रहपूर्ण कदम भएको दाबी गरेका छन्।
जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरिएको आयोगको सिफारिसका आधारमा प्रहरीले शनिबार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको थियो।
उता, च्यासलस्थित पार्टी कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा बसेको बैठकले दुवै नेतालाई तत्काल रिहाइ गर्न माग गर्दै देशभर चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। महासचिव शंकर पोखरेल ले आन्दोलनका कार्यक्रम क्रमशः कडा बनाइने संकेत दिएका छन्।
ओली पक्राउ प्रकरणले देशभर राजनीतिक तनाव बढाउँदै लगेको छ भने सडकदेखि संसदसम्म यसको प्रभाव देखिन थालेको छ।