एक महिनादेखि जारी मध्यपूर्व द्वन्द्व थप जटिल बन्दै गएको छ। यसै क्रममा यमन पनि युद्धमा सक्रिय रूपमा देखिएको छ।
इजरायल रक्षा बल (आईडीएफ) का अनुसार यमनबाट इजरायल तर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत अवरोध गरिएको छ।
यमनस्थित हुथी समूहका प्रवक्ता याह्या सारीले उक्त आक्रमणको जिम्मेवारी लिँदै अमेरिका र इजरायलसँग सहकार्य गर्ने देशहरूलाई चेतावनी दिएका छन्। उनले इरान वा अन्य मुस्लिम राष्ट्रविरुद्ध आक्रमण भए प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने बताएका छन्।
यसअघि इरानले साउदी अरेबिया स्थित एक सैन्य अड्डामा आक्रमण गर्दा अमेरिकी सैनिकहरू घाइते भएका थिए।
पछिल्लो घटनाक्रमले अमेरिका र इजरायल विरुद्ध क्षेत्रीय शक्तिहरू खुला रूपमा उभिन थालेको संकेत गरेको छ।
विशेषगरी फेब्रुअरी अन्त्यतिर अमेरिका–इजरायलको संयुक्त कारबाहीपछि द्वन्द्व चर्किँदै गएको छ। सो आक्रमणमा अयातोल्लाह अली खामेनी लगायत शीर्ष इरानी नेताहरू मारिएको दाबी गरिएको छ।
यसबीच, इरानमा भएको आक्रमणबाट हजारौँको ज्यान गएको विभिन्न स्रोतहरूले जनाएका छन्। लगातार बढ्दो आक्रमण र प्रतिआक्रमणले मध्यपूर्व क्षेत्रलाई अझ अस्थिर बनाएको छ।