हावाहुरी र वर्षाले लाखौँको क्षति, घर–गोदाममा नोक्सानी

२ हप्ता अगाडि
हावाहुरी र वर्षाले लाखौँको क्षति, घर–गोदाममा नोक्सानी

झापा । झापाको मेचीनगर र गौरादह क्षेत्रमा गएराति आएको हावाहुरीसहितको वर्षाले ठुलो भौतिक क्षति पुर्‍याएको छ।

मेचीनगर–१० आम्दा रोडमा रहेको सुरज चौधरीद्वारा सञ्चालित कुचो खरिद–बिक्री केन्द्रको गोदामको छानो उड्दा भित्र राखिएका सामग्री भिजेर नष्ट भएका छन्। यस घटनाबाट मात्रै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

यस्तै गौरादह नगरपालिकाका विभिन्न वडामा पनि हावाहुरीले जनजीवन प्रभावित बनाएको छ। गौरादह–४ मा ऐरबहादुर खत्रीको घर र भान्साघरमा क्षति पुग्दा करिब १ लाख ४० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

त्यसैगरी, चन्द्रमणी खनालको घरको छानो उड्दा अन्नपातसहित करिब २ लाख ५० हजार, पार्वता खनालको घरमा करिब २ लाख, बिना परियारको बंगुर खोरमा करिब ६० हजार र दिलकुमार चेम्जोङको घरमा करिब २६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

गौरादह क्षेत्रमा मात्रै कुल ६ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति भएको भए पनि मानवीय तथा पशुचौपाया क्षति भने नभएको जनाइएको छ।

घटनाबारे स्थानीय प्रहरीले थप विवरण संकलन तथा अनुसन्धान गरिरहेको छ।