काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई गरिएको पक्राउप्रति आपत्ति जनाएको छ। पार्टीले उक्त कदम कानुनी प्रक्रिया विपरीत र हतारमा गरिएको निर्णय भएको टिप्पणी गरेको हो।
पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की आयोग को प्रतिवेदनमाथि नै प्रश्न उठाए। उनका अनुसार प्रतिवेदन अपूर्ण रहेको र विशेषगरी भदौ २३ र २४ गतेका घटनामा सरकारको व्यवहार चयनात्मक देखिएको छ।
चालिसेले दुवै दिनका घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिए। “कुनै पनि निर्णय आवेग वा राजनीतिक उद्देश्यले होइन, विधिसम्मत प्रक्रियाबाट हुनुपर्छ,” उनले भने।
उनले २४ गतेको घटनालाई प्रतिवेदनले समेट्न नसकेको दाबी गर्दै सम्पूर्ण घटनाको सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे। साथै, कानूनको शासन कमजोर पार्ने खालका हतारका निर्णयले देशलाई फेरि अस्थिरता र द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनीसमेत दिए।
कांग्रेसले विधिको शासनमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पूर्वाग्रहपूर्ण कारबाही स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, तत्काल कुनै आन्दोलनको कार्यक्रम भने नरहेको जनाएको छ।