वैशाखमा पीएम कप भलिबल लिग: १४ टोली प्रतिस्पर्धामा, विजेतालाई १० लाख पुरस्कार

२ हप्ता अगाडि
वैशाखमा पीएम कप भलिबल लिग: १४ टोली प्रतिस्पर्धामा, विजेतालाई १० लाख पुरस्कार

काठमाडौं । नेपाल भलिबल संघले आगामी वैशाखमा १० औं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आयोजना गर्ने भएको छ। प्रतियोगिता वैशाख १० देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत त्रिपुरेश्वरस्थित कभर्ड हलमा सञ्चालन हुनेछ।

लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली गरी कुल १४ टोलीको सहभागिता रहनेछ। पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब सहभागी हुनेछन्।

महिलातर्फ न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल प्रहरी क्लब, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लब को प्रतिस्पर्धा रहनेछ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले विभिन्न चुनौतीका बाबजुद भलिबल खेल र खेलाडीको विकासका लागि प्रतियोगिता निरन्तर आयोजना गरिँदै आएको बताए।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ।