काभ्रे । रोशी खोला मा आएको बाढीले बिपी राजमार्ग अन्तर्गत अस्थायी सडक (डाइभर्सन) बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार साँझको वर्षापछि आएको बाढीले चौकीडाँडा–नेपालथोक खण्डको करिब चार किलोमिटर डाइभर्सन बगाएको हो। त्यसपछि शनिबार रातिदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले जनाएको छ।
निरन्तर वर्षाका कारण पुनर्निर्माण कार्य प्रभावित भएको छ। पानीको बहाव घटेपछि मात्रै डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
बाढीले रोशी गाउँपालिका–७ का करिब ४० वर्षीय कुन्साङ तामाङको मृत्यु भएको छ। साथै, सात जनाको उद्धार गरिएको छ भने एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी पनि बगाएको जनाइएको छ।
गत वर्षको बाढीपहिरोपछि सो क्षेत्रमा अस्थायी सडकमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। हाल धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे, नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारीसाधन रोकिएको छ।