काठमाडौं । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान करिब ६ बजेदेखि सडकमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो। यद्यपि मौसम अझै प्रतिकूल रहेकाले यात्रु र सवारी चालकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
लगातारको वर्षाका कारण शुक्रबार रोशी क्षेत्रमा बनाइएको अस्थायी सडक तथा डाइभर्सन बग्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। पानीको सतह घटेपछि सम्बन्धित निकायले अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याएका हुन्।
सडक पुनः सञ्चालनका लागि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीयवासीले संयुक्त रूपमा काम गरेका थिए।
बाढीपहिरोका कारण बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार आसपासका विभिन्न स्थानमा सडक क्षति पुगेको थियो। यसअघि राजमार्ग बन्द हुँदा धुलिखेलको काभ्रेभन्ज्याङ, भकुण्डे तथा पूर्वतर्फका नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारीसाधन रोकिन बाध्य भएका थिए।
गत वर्षको बाढीपहिरोपछि चौकीडाँडा–नेपालथोक खण्डमा स्थायी संरचना क्षतिग्रस्त बनेकाले हालसम्म खोलाबाटै अस्थायी मार्ग बनाएर सवारी सञ्चालन हुँदै आएको छ। अहिले पनि त्यही अस्थायी संरचनामार्फत यातायात सञ्चालन गरिएको हो।