प्राकृतिक विपद्ले थलिएको कृषि: झापा गाउँपालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न किसानको माग

२ हप्ता अगाडि
प्राकृतिक विपद्ले थलिएको कृषि: झापा गाउँपालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न किसानको माग

प्राकृतिक विपद्ले थलिएको कृषि: झापा गाउँपालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न किसानको माग

झापा । बारम्बार आउने बाढी, हावाहुरी र असिनाका कारण ठूलो क्षति बेहोर्दै आएका झापा गाउँपालिकाका किसानहरूले उक्त क्षेत्रलाई प्राकृतिक संकटग्रस्त घोषणा गर्न माग गरेका छन्।

स्थानीय किसानका अनुसार पछिल्ला वर्षहरूमा प्राकृतिक प्रकोपले व्यावसायिक कृषि क्षेत्रमा गम्भीर असर पारेको छ। विशेषगरी केरा, धान, मकै तथा तरकारी खेतीमा बाढी, डुबान, हावाहुरी र असिनाले पटक–पटक लाखौं रुपैयाँ बराबरको क्षति पुर्‍याउँदै आएको छ।

स्थानीय युवा किसान चन्द्रबहादुर बस्नेतले प्राकृतिक विपद्का कारण उत्पादन, आम्दानी र लगानी सबै प्रभावित भएको बताए। उनका अनुसार यसले किसानहरूलाई आर्थिक रूपमा कमजोर बनाउँदै कृषि पेशा नै जोखिममा पारिरहेको छ।

किसानहरूले यस्तो अवस्थालाई ध्यानमा राख्दै क्षेत्रलाई संकटग्रस्त घोषणा गरी ‘किसान पुनःस्थापना कोष’ स्थापना गर्नुपर्ने माग अघि सारेका छन्। साथै प्रभावित किसानलाई राहत, अनुदान, विशेष कृषि बीमा तथा संरक्षण कार्यक्रम लागू गर्नुपर्ने उनीहरूको जोड छ।

किसानहरूले आफ्ना माग कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कोशी प्रदेश सरकार तथा स्थानीय तहसमक्ष पेश गरेका छन्।

किसानहरूको प्रमुख मागहरूमा क्षतिको यथार्थ विवरण संकलन, पूर्व संकलित विवरणको सम्बोधन, पुनःस्थापना कोष स्थापना, कृषि बीमा विस्तार तथा राहत र पुनर्निर्माण कार्यक्रम तत्काल सञ्चालन गर्ने विषय समावेश छन्।

स्थानीय किसानहरूको भनाइमा, समयमै प्रभावकारी कदम चालिएन भने व्यावसायिक कृषि प्रणाली नै दीर्घकालीन रूपमा प्रभावित हुने जोखिम बढ्दै गएको छ।