‘कार्यवाहक सभापति’को नाममा विज्ञप्ति निकाल्दा विवाद: पूर्णबहादुर खड्कामाथि कारबाहीको तयारी

२ हप्ता अगाडि
‘कार्यवाहक सभापति’को नाममा विज्ञप्ति निकाल्दा विवाद: पूर्णबहादुर खड्कामाथि कारबाहीको तयारी

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्का द्वारा ‘कार्यवाहक सभापति’को हैसियतमा जारी गरिएको विज्ञप्तिलाई गम्भीर रूपमा लिँदै कारबाहीको तयारी थालेको छ।

शनिबार केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीको विरोधमा खड्काले सो विज्ञप्ति सार्वजनिक गरेका थिए। तर उक्त कदम पार्टीको आधिकारिक निर्णयबिना भएको भन्दै नेतृत्व असन्तुष्ट बनेको हो।

पार्टीका महामन्त्री गुरुराज घिमिरे ले संस्थागत निर्णयभन्दा बाहिर गएर यस्तो विज्ञप्ति निकाल्नु पार्टी अनुशासन विपरीत भएको बताएका छन्। उनका अनुसार यस्तो गतिविधिले पार्टीको मर्यादा र संरचनात्मक अनुशासनमा असर पार्ने देखिएको छ।

यस विषयमा पदाधिकारी स्तरमा छलफल गरी आवश्यक निर्णय लिने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ। खड्काले समानान्तर गतिविधि जारी राखेमा उनको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने विषय समेत छलफलमा रहेको बताइएको छ।

पार्टीले सबै सदस्यको क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय गरिसकेको अवस्थामा खड्काको पछिल्लो कदमले आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।