काठमाडौं । संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध व्यापक प्रदर्शन गरिएको छ।
इरानसँगको सम्भावित युद्ध, आप्रवासन नीतिहरू तथा बढ्दो महँगीका विषयमा असन्तुष्टि जनाउँदै शनिबार देशका प्रमुख सहरहरूमा विरोध प्रदर्शन भएका हुन्। न्युयोर्क, वासिङ्टन डीसी र लस एन्जलस लगायत सहरमा दिनभर प्रदर्शन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस क्रममा विभिन्न डेमोक्र्याटिक पार्टीका नेताहरूले समेत विरोधसभामा सहभागी भई ट्रम्प प्रशासनका नीतिको आलोचना गरेका थिए।
प्रदर्शनकारीहरूले ट्रम्पका नीतिले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमा असर पार्ने भन्दै विरोध जनाएका छन्। आयोजकहरूले ‘नो किंग्स’ नाम दिइएको अभियानमार्फत सरकारको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
उक्त प्रदर्शन अभियान यसअघि ट्रम्पको जन्मदिनको अवसर पारेर सुरु गरिएको बताइएको छ, जसले अहिले देशव्यापी रूप लिएको छ।