स्वास्थ्य परीक्षणमा अनियमितताको आरोपपछि यातायात कार्यालय प्रमुख मन्त्रालय तानिए

२ हप्ता अगाडि
स्वास्थ्य परीक्षणमा अनियमितताको आरोपपछि यातायात कार्यालय प्रमुख मन्त्रालय तानिए

विराटनगर । इटहरी स्थित यातायात व्यवस्था कार्यालय (लाइसेन्स) कोशीका प्रमुख सतिस सत्याललाई मन्त्रालय तानिएको छ।

स्वास्थ्य परीक्षणमा फेल भएका सेवाग्राहीलाई पास गराएको आरोप लागेपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीले उनलाई कारबाही स्वरूप मन्त्रालय झिकाएको हो।

मन्त्रालयका अनुसार लिखित तथा मौखिक गुनासो आएपछि सचिव आस्मान तामाङ को नेतृत्वमा छड्के अनुगमन गरिएको थियो। अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा असफल भएकालाई पास गराएको तथ्य फेला परेपछि कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

मन्त्री इन्द्रमणी पराजुलीले घटनाबारे थप अध्ययन भइरहेको जानकारी दिँदै कार्यालय प्रमुखको कार्यकक्ष समेत सिल गरिएको बताए।

सवारी चालक अनुमति पत्र लिन वा नवीकरण गर्न अनिवार्य स्वास्थ्य परीक्षणमा सेवाग्राहीसँग रकम लिने गरेको आरोप पनि लागेको छ। यसअघि यस्ता गुनासा बढेपछि मन्त्रालयले सिधै स्वास्थ्य परीक्षणका लागि डाक्टर नियुक्त गर्ने व्यवस्था लागू गरेको थियो।

तर आरोपित सत्यालले भने आफूले अनियमितता नगरेको दाबी गरेका छन्। उनले सेवाग्राहीलाई सहज बनाउन ‘रिचेक’को सिफारिस गरेको मात्र भन्दै छानबिनबाट सत्य बाहिर आउने बताएका छन्।