ज्वालामुखी गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ५ सयभन्दा बढी नागरिक लाभान्वित

२ हप्ता अगाडि
ज्वालामुखी गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ५ सयभन्दा बढी नागरिक लाभान्वित

धादिङ । ज्वालामुखी गाउँपालिकामा आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।

चैत १४ गते वडा नम्बर ५ स्थित खरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एकदिने शिविरमा करिब ५ सय स्थानीय नागरिकले स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिका अध्यक्ष यमनाथ दनैका अनुसार शिविरमा उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रम गाउँपालिकाको आयोजनामा रोटरी क्लब अफ मिड टाउन चितवन, चितवन मेडिकल कलेज र रोटरी क्लब अफ धादिङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

शिविरमा जेनरल सर्जरी, फिजिसियन, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक–कान–घाँटी, छाला तथा मानसिक रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए। स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको र करिब १० लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले आयोजना गरिएको शिविरले स्वास्थ्य सचेतना बढाउनुका साथै रोगको प्रारम्भिक पहिचानमा सहयोग पुगेको विश्वास गरिएको छ।

गम्भीर बिरामीहरूको थप उपचार गाउँपालिकाले आफ्नै खर्चमा निःशुल्क गर्ने तथा आवश्यक परे चितवन मेडिकल कलेजले २० प्रतिशत छुट प्रदान गर्ने सहमति भएको पनि जनाइएको छ।