नारायणी नदीमा डुबेर दुई विद्यार्थीको मृत्यु

२ हप्ता अगाडि
नारायणी नदीमा डुबेर दुई विद्यार्थीको मृत्यु

हेटौँडा । नारायणी नदीमा डुबेर दुई जना विद्यार्थीको ज्यान गएको छ।

भरतपुर–३ बाह्रघरेचोकस्थित मुनलाइट इङलिस स्कुलमा अध्ययनरत कक्षा ७ का दुई विद्यार्थीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भरतपुर–१६ शरणपुरका करिब १४ वर्षीय सनम रम्तेल र उनका सहपाठी प्रशान्त क्षेत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरू परीक्षा दिन विद्यालय पुगेका थिए। तर परीक्षा सुरु हुनुअघि नै नजिकै रहेको नारायणी नदीमा पौडी खेल्न गएका थिए।

सो क्रममा नदीको गहिरो भङ्गालोमा डुबेर बेपत्ता भएका उनीहरूलाई खोजीपछि उद्धार गरी भरतपुर अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।

विद्यालय र नदीबीचको दूरी करिब ८ सय मिटर मात्र रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।