काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति जारी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीले अनुशासन समितिको आकस्मिक बैठक बोलाएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत १८ गतेका लागि बैठक तय गरिएको छ। अनुशासन समितिका संयोजक तारामान गुरुङले फागुन २१ को निर्वाचनमा देखिएको अन्तर्घात तथा पछिल्ला समानान्तर गतिविधिबारे बैठकमा विस्तृत छलफल हुने बताएका छन्।
शनिबार केपी शर्मा ओली र रमेश लेखकको पक्राउविरुद्ध खड्काले ‘कार्यवाहक सभापति’को नाममा विज्ञप्ति जारी गरेपछि संस्थापन पक्ष असन्तुष्ट बनेको हो। उक्त कदमलाई पार्टीको विधि र अनुशासन विपरीत भएको भन्दै नेतृत्वले गम्भीर रूपमा लिएको जनाएको छ।
यसअघि विशेष महाधिवेशनपछि पार्टी दुई धारमा विभाजित भएको थियो। गगन थापा नेतृत्वको समूहलाई मान्यता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जसमा चैत २२ गते सुनुवाइ तोकिएको छ।
संस्थापन पक्षले शेखर कोइराला समूहसँग मिलेर समानान्तर गतिविधि गरिरहेको आरोप लगाएको छ। यसैबीच, महामन्त्री गुरुराज घिमिरेले पार्टीको औपचारिक निर्णयविपरीत विज्ञप्ति निकाल्नु अनुशासनविरुद्ध भएको बताएका छन्।
पार्टीभित्र बढ्दो असन्तुष्टिका बीच खड्कामाथि अनुशासनात्मक कारबाहीको तयारीसमेत भइरहेको छ। उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।