एमाले बैठक

एमालेको समानुपातिकतर्फको बन्दसूचीमा ओलीको एक्लौटी भएकोभन्दै विरोध

३ महिना अगाडि
एमालेको समानुपातिकतर्फको बन्दसूचीमा ओलीको एक्लौटी भएकोभन्दै विरोध

काठमाडौं । संसद पुनस्र्थापनाको माग राख्दै अदालत गएको एमाले अन्ततः चुनावमै होमिनेभएकोछ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले चुनावमा होमिन मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । 

बैठकले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा राखिने नाममा टुंगो लगाएको छ भने पुस २० गतेभित्र प्रत्यक्षतर्फका आकांक्षीहरुको नाम पठाउन निर्देशन पनि दिएको छ । समानुपातिकको बन्दसूची सोमबार एमालेले नाम निर्वाचन आयोगमा बुझाउने भएको छ । 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव महेश बस्नेतले पनि अरुले चुनावको तयारी नगरे पनि आफूहरूले धेरै कुरा व्यवस्थित गरिसकेको बताए । उनले लोकतान्त्रिक दल भएकाले चुनावको विपक्षमा आफ्नो पार्टी नरहने बताए । 

ओलीले समानुपातिक बन्दसूचीमा बुझाइने ११० जनाकै नाम तयार पारेका छन् । जहाँ खस आर्यतर्फको एक नम्बरमा गुरु बरालको नाम उल्लेख छ । 

यसैबीच ओलीले तयार पारेको सूची संशोधनका लागि माग भएको छ । उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्त, उपमहासचिवहरू योगेश भट्टराई, लेखराज भट्ट र रघुवीर महासेठ तथा सचिव यामलाल कँडेलले आ–आफ्ना तर्फबाट नामहरू बुझाएका छन् ।

उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईले भने समानुपातिक बन्दसूची तयार पार्दा मापदण्डमा आधारित हुनुपर्ने अडान लिएका थिए ।