कोशी-बागमती-गण्डकीमा वर्षा संकेत: आज देशभर आंशिकदेखि सामान्य बदली

२ हप्ता अगाडि
कोशी-बागमती-गण्डकीमा वर्षा संकेत: आज देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं । देशमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण आज मौसममा आंशिकदेखि सामान्य बदली रहने देखिएको छ। विशेषगरी पहाडी र हिमाली भूभागमा बादलको प्रभाव बढी रहने मौसम पूर्वानुमानले देखाएको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बाँकी स्थानमा भने आंशिक बदलीको अवस्था रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेशका केही भाग, कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।

आज राति पनि पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली कायम रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने बताइएको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ र सम्भावित वर्षाका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।