साउदीस्थित एयर बेसमा अमेरिकी सैन्य विमान क्षतिग्रस्त, १२ जना घाइते

२ हप्ता अगाडि
साउदीस्थित एयर बेसमा अमेरिकी सैन्य विमान क्षतिग्रस्त, १२ जना घाइते

काठमाडौं । साउदी अरेबिया को एक सैन्य हवाई अड्डामा अमेरिकी सैन्य विमान गम्भीर रूपमा क्षतिग्रस्त भएको घटना सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विमान दुई टुक्रा भएको अवस्थामा देखिएको छ।

उक्त विमान ई-३ सेन्ट्री मोडलको रहेको जनाइएको छ, जुन निगरानी र हवाई चेतावनी प्रणालीका लागि प्रयोग हुने विमान हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीको तथ्य-जाँच टोलीले तस्बिर प्रिन्स सुल्तान एयर बेसबाट लिइएको पुष्टि गरेको छ। उक्त एयर बेस राजधानी रियाद बाट करिब १०० किलोमिटर दक्षिणपूर्वमा पर्छ।

घटनासम्बन्धी थप विवरण सार्वजनिक नभए पनि एक अमेरिकी अधिकारीले रोयटर्ससँग कुरा गर्दै इरानसँग सम्बन्धित सैन्य आक्रमणमा १२ जना अमेरिकी सैनिक घाइते भएको बताएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनापछि उक्त क्षेत्रको सुरक्षा अवस्था थप कडाइ गरिएको जनाइएको छ भने क्षतिको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान जारी रहेको छ।