अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिने चाहना व्यक्त गर्दै नयाँ विवाद सिर्जना गरेका छन्।
फाइनान्सियल टाइम्स सँगको अन्तर्वार्तामा उनले इरानको अधिकांश तेल निर्यात हुने खार्ग टापु नियन्त्रणमा लिन सकिने बताएका हुन्। ट्रम्पले स्पष्ट रूपमा आफू इरानको तेल कब्जा गर्न चाहेको उल्लेख गर्दै यस विषयमा अमेरिका भित्रैबाट विरोध हुनेहरूलाई आलोचना समेत गरेका छन्।
उनले आवश्यक परे खार्ग टापु कब्जा गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गर्दै अमेरिका सँग विभिन्न विकल्प रहेको बताएका छन्। केही समय त्यहाँ रहनुपर्ने सम्भावना समेत उनले औंल्याएका छन्।
ट्रम्पले इरानसँग प्रभावकारी सुरक्षा संरचना नभएको दाबी गर्दै खार्ग टापु सहजै नियन्त्रणमा लिन सकिने जिकिर गरेका छन्।
यसैबीच, मध्यपूर्व क्षेत्रमा थप ३ हजार ५०० अमेरिकी सैनिक पुगेका बेला यस्तो अभिव्यक्ति आएको हो। साथै, पाकिस्तानमार्फत अमेरिका र इरान बीच जारी अप्रत्यक्ष वार्तामा प्रगति भइरहेको दाबी पनि ट्रम्पले गरेका छन्। तर सम्भावित युद्धविरामको समयबारे भने उनले स्पष्ट प्रतिक्रिया दिएका छैनन्।
एक महिनादेखि जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ। हाल ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६ अमेरिकी डलरसम्म पुगेको छ, जुन एक महिनाअघि करिब ७२ डलरको हाराहारीमा थियो।