काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ। हिजो बढेको सुनचाँदीकै मूल्य आज घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ। हिजो भने सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेर दुई लाख ८६ हजार रुपैयाँ पुगेको थियो।
यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले घटेर दुई लाख ८१ हजार रुपैयाँमा झरेको थियो। बुधबार एकैदिन १३ हजार रुपैयाँले बढेको सुनको मूल्य त्यसपछिका दिनमा लगातार घट्दो क्रममा देखिएको थियो।
माघ १५ गते भने सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर ४ हजार ७ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।
गत माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ। माघ १५ गते भने चाँदीको भाउ ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन यसको उच्चतम मूल्य हो।