पहिरोले मेची राजमार्ग ठप्प, बागखोरमा ट्रक पुरियो

२ हप्ता अगाडि
पहिरोले मेची राजमार्ग ठप्प, बागखोरमा ट्रक पुरियो

झापा । इलामको रोङ गाउँपालिका–४ बागखोर क्षेत्रमा पुनः पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि सोमबार राति पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको सडक आज बिहानै फेरि बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिहान खसेको पहिरोले सडक पूरै ढाक्दा यातायात सेवा प्रभावित बनेको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसअघि साँझ सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक राति करिब १०:५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। तर, बिहान पुनः ढुङ्गासहितको पहिरो खस्दा अवस्था फेरि जटिल बनेको हो।

सडक मर्मत भइरहेको सोही स्थानमा माथिबाट खसेको पहिरोले इलामबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक समेत पुरिएको प्रहरीले जनाएको छ। चालकको अवस्थाबारे भने विस्तृत विवरण आउन बाँकी छ।