काठमाडौं । टुटफुटको इतिहास बोकेका मधेस केन्द्रित दलहरु राजनीतिक परिस्थिति बदलिएसँगै पुनःः एकतामा जोडिएका छन् । समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले दिएको समय सकिनै लाग्दा मधेसका मुख्य दुईदल जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता घोषणा भएको छ ।
एकता समझदारीमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच हस्ताक्षर भएको छ । जारी वक्तव्यमा भनिएको छ, ‘दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा नेपाल र लोसपा नेपाल पार्टी एकीकण गर्ने निर्णय गरियो ।'
चुनाव चिन्ह छाता नै हुन्छ, त्यही चिन्हमा बन्दसूची तयारी भएको एक नेताले जानकारी दिए । २०७७ वैशाखमा पनि यी दुई पार्टीबीच एकता भएको थियो, त्यो बेला चिन्ह छाता नै थियो ।
यद्यपि त्यो एकता धेरै टिकेन । २०७८ भदौमा पुग्दा महन्थ ठाकुरको नेतृत्वमा लोसपा बन्यो, चुनाव चिन्ह साइकल लिए । २०७९ को चुनावमा उनीहरूको चुनाव चिन्ह मात्र नभएर गठबन्धन पनि अलग–अलग बन्यो ।