मेथेन खोलामा अपर तमोर हाइड्रो कामदारको शव फेला

२ हप्ता अगाडि
मेथेन खोलामा अपर तमोर हाइड्रो कामदारको शव फेला

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका स्थित अपर तमोर हाइड्रो परियोजनामा कार्यरत एक कामदार मृत अवस्थामा फेला परेका छन्।

मृतक म्याङ्लुङ नगरपालिका–१ गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरीका अनुसार लिम्बू गत फागुन ८ गते घर जान्छु भन्दै हिँडेका थिए तर त्यसपछि सम्पर्कविहीन बनेका थिए। परिवारले चैत १ गते खोजतलासका लागि निवेदन दिएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो।

सोही क्रममा आइतबार फक्ताङलुङ गाउँपालिका–२ स्थित मेथेन खोलामा सडेगलेको अवस्थामा उनको शव फेला परेको हो। घटनास्थलमै पुगेर गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा बाँया हातमा रहेको ट्याटुको आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ। मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।