पीएम कपमा सुदूरपश्चिमको निरन्तर जित, लुम्बिनी १२ रनले पराजित

२ हप्ता अगाडि
पीएम कपमा सुदूरपश्चिमको निरन्तर जित, लुम्बिनी १२ रनले पराजित

काठमाडौं । लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हात पारेको छ।

सोमबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १२ रनले हराएको हो। यससँगै तीन जित र एक हार बेहोरेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

लुम्बिनी प्रदेश भने एक जित, दुई हार र एक खेलमा अंक बाँड्दै ३ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.२ ओभरमा १५६ रनमा अलआउट भयो। लुम्बिनीका सन्तोष यादवले ६७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ध्रुव सुनारले ३६ र रञ्जित खड्काले ११ रन जोडे, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र खडक बोहोराले समान ३–३ विकेट लिए। हेमन्त धामीले २ विकेट लिँदा नारायण जोशी र लोकेन्द्र चन्दले समान एक–एक विकेट लिए।

यसअघि वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४५.४ ओभरमा १६८ रनमा समेटिएको थियो।

सुदूरपश्चिमका दीपक बोहोराले ३०, हेमन्त धामीले २९, किरण ठगुन्नाले २० रन बनाए। अविशेक पलले १७ तथा प्रकाश पाण्डेले १४ रन जोडे भने खडक बोहोरा र सौर्या श्रेष्ठले समान १०–१० रन बनाए।

लुम्बिनीका सन्तोष यादव र अजय चौहानले समान ४–४ विकेट लिए भने सन्देश थापाले एक विकेट हात पारे।