रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक छात्राले विद्यालयकै शौचालयमा बच्चा जन्माएकी घटना सार्वजनिक भएको छ।
१८ वर्षीया ती छात्रा घर टाढा भएकाले विद्यालयले उपलब्ध गराएको कोठामा साथीहरूसँग बस्दै अध्ययन गर्दै आएकी थिइन्। तर उनले गर्भावस्थाबारे शिक्षक, कर्मचारी, प्रशासन वा सँगै बस्ने साथीहरूसमेत कसैलाई जानकारी नदिएको पाइएको छ।
विद्यालय स्रोतका अनुसार बच्चाका पिता भनिएका एक छात्रसँग उनको सम्बन्ध रहेको र त्यसैबाट गर्भ रहेको उनले बताएकी छन्। ती युवक हाल विद्यालयमा उपस्थित नभए पनि उनको परिवारले जिम्मेवारी स्वीकार गरेको जनाइएको छ।
भदौ महिनादेखि उक्त विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गरिरहेकी ती छात्रालाई औपचारिक छात्रावास नभए पनि खाली कोठामा अन्य दुई छात्रासँग बस्ने व्यवस्था गरिएको थियो।
घटना बाहिरिएपछि विद्यालय प्रशासन नै अचम्मित बनेको छ। केही समयअघि शरीर अस्वाभाविक रूपमा मोटो देखिएपछि एक शिक्षकले सोध्दा उनले डाइटिङ गरेर तौल घटाउने बताउँदै वास्तविकता लुकाएकी थिइन्।
घटनाको दिन पेट दुखेको भन्दै उनले विद्यालय प्रशासनसँग सिटामोल मागेर खाएको समेत खुलेको छ। शौचालयमा बच्चा जन्माएपछि मात्र सँगै बस्ने साथीले घटनाबारे थाहा पाएकी थिइन्।
विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीका अनुसार छात्रालाई उनका अभिभावकको जिम्मा लगाइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष चित्रबहादुर थापाले पनि घटनाको पुष्टि गर्दै परिवारले विषय स्वीकार गरिसकेको जानकारी दिए।
परिवारलाई उनीहरूबीचको सम्बन्धबारे पहिले नै जानकारी भए पनि गर्भावस्थाको विषय भने लुकाइएको पाइएको छ।