काठमाडौं । सरकारले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार पार्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साह को नेतृत्वमा कार्यदल गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई समेटिने जनाइएको छ। उक्त कार्यदलले संविधान संशोधनका सम्भावित विषयहरू समेटेर विस्तृत बहसपत्र तयार गर्नेछ, जसलाई आगामी संसद् अधिवेशनमा छलफलका लागि प्रस्तुत गरिने अपेक्षा गरिएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेल ले संविधान संशोधनलाई राष्ट्रिय सहमतिका आधारमा अघि बढाइने बताएका छन्। उनका अनुसार बहसपत्रले राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्न सहयोग गर्नेछ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको अधिवेशन चैत १९ गतेका लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसँगै संविधान संशोधनको प्रक्रिया अघि बढाउने संकेत दिएको हो। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ।