काठमाडौं । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अमेरिकाले मध्यपूर्व क्षेत्रमा विशेष फौजका सयौँ सैनिक तैनाथ गरेको छ।
रिपोर्टअनुसार अमेरिकी नेभी सिल्स, आर्मी रेन्जर्स तथा प्याराट्रुपर्सहरू उक्त क्षेत्रमा परिचालन भइसकेका छन्। साथै अमेरिकी मरीन फौज पनि त्यहीँ उपस्थित रहेको जनाइएको छ।
सीबीएसले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार यी सैनिकहरूको तैनाथीको उद्देश्य राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग सम्बन्धित सम्भावित सैन्य विकल्पहरू उपलब्ध गराउनु रहेको छ।
ती विकल्पहरूमा होर्मुज जलघाँटी खोल्ने, खार्ग टापुमा रहेको तेल आपूर्ति नियन्त्रणमा लिने वा इरानको समृद्ध युरेनियम भण्डारमाथि नियन्त्रण गर्ने कार्यसमेत समावेश हुन सक्ने उल्लेख गरिएको छ।
यस विषयमा अमेरिकी केन्द्रीय कमान (सेन्टकम) ले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।
यसअघि सेन्टकमले शनिबार करिब ३ हजार ५ सय नौसैनिक तथा मरीनहरू यूएसएस ट्रिपोलीमार्फत मध्यपूर्व पुगेको जानकारी दिएको थियो।