एएफसी छनोटमा आज नेपाल–लाओस भिडन्त, हारको बदला खोज्दै नेपाल

२ हप्ता अगाडि
एएफसी छनोटमा आज नेपाल–लाओस भिडन्त, हारको बदला खोज्दै नेपाल

काठमाडौं । नेपालले आज एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो लेगमा भोगेको हारको बदला लिँदै जितसहित यात्रा टुंग्याउने लक्ष्यमा नेपाली टोली मैदान उत्रनेछ। गत वर्ष भएको पहिलो भेटमा नेपाल २–१ ले पराजित भएको थियो।

घरेलु टोली लाओस भने दोस्रो लेगमा पनि जित दोहोर्‍याउने तयारीमा छ। दुवै टोलीबीचको खेल लाओसको भियन्टियानेस्थित न्यु लाओस राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ।

सन् २०२७ मा साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपका लागि भइरहेको छनोटको तेस्रो चरणअन्तर्गत यो खेल हुन लागेको हो।

समूह ‘एफ’ मा रहेका नेपाल र लाओस दुवै टोली यसअघि नै छनोट होडबाट बाहिरिसकेका छन्। समान ३–३ अंक भए पनि नेपाल तालिकामा तल र लाओस त्यसभन्दा एक स्थान माथि रहेको छ।