काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा युक्रेनले रुसका महत्वपूर्ण तेल पूर्वाधारमा आक्रमण तीव्र पारेको छ।
बीबीसीका अनुसार मार्च २३ यता युक्रेनले रुसको लेनिनग्राद क्षेत्र, सेन्ट पिटर्सबर्ग नजिकका कम्तीमा तीन तेल सम्बन्धी संरचनामा बारम्बार हमला गरेको छ। ती आक्रमणपछि सम्बन्धित स्थानमा लामो समयसम्म आगलागी भएको जनाइएको छ।
बाल्टिक सागरस्थित प्रमुख तेल निर्यात बन्दरगाह उस्ट-लुगा र प्रिमोर्स्कमा छुट्टाछुट्टै आक्रमण गरिएका थिए। त्यस्तै नजिकैको किरिसी तेल प्रशोधन केन्द्र पनि निशानामा परेको छ।
ऊर्जा तथा स्वच्छ वायु अनुसन्धान केन्द्रका अनुसार सन् २०२५ मा रुसको कुल तेल निर्यातमध्ये २२ प्रतिशत प्रिमोर्स्क र २० प्रतिशत उस्ट-लुगाबाट हुँदै आएको थियो।
पछिल्ला तथ्यांकले मार्च २६ र २७ मा यी तीनै बाल्टिक बन्दरगाहबाट कुनै पनि जहाजमा तेल लोड नभएको देखाएको छ।
उपग्रह तस्बिरमा मार्च २४ मा प्रिमोर्स्क क्षेत्रमा आगलागीबाट ठूलो धुवाँ उठिरहेको देखिएको थियो भने मार्च २७ मा उस्ट-लुगा र किरिसी क्षेत्रमा पनि व्यापक क्षति भएको संकेत देखिएको छ।