काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्धको जारी सैन्य अभियान अन्त्य गर्न सकारात्मक देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशेषगरी वाल स्ट्रिट जर्नलकाको रिपोर्टअनुसार ट्रम्प प्रशासनले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग पूर्ण रूपमा नखुल्दै पनि युद्ध अन्त्य गर्ने विकल्पबारे छलफल थालेको हो।
रिपोर्टअनुसार अमेरिकी पक्षले होर्मुज जलमार्ग जबरजस्ती खोल्ने प्रयास अपेक्षाभन्दा लामो समय लाग्ने निष्कर्ष निकालेको छ। सैन्य मूल्याङ्कनले यस्तो अभियान चारदेखि छ हप्तासम्म थप लम्बिन सक्ने देखाएपछि वासिङ्टनले वैकल्पिक कूटनीतिक उपाय रोज्ने संकेत दिएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार इरानका नौसैनिक क्षमता र क्षेप्यास्त्र भण्डारमा ठूलो क्षति पुर्याइसकेको दाबी गर्दै अब प्रत्यक्ष युद्धभन्दा व्यापारिक आवागमन पुनःस्थापित गर्न कूटनीतिक दबाब बढाउने रणनीति बनाइएको छ। यदि यो प्रयास सफल नभएमा अमेरिका र उसका साझेदारहरूले खाडी क्षेत्रका सहयोगी राष्ट्रमार्फत जलमार्ग खोल्न दबाब दिने सम्भावना रहेको बताइएको छ।
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव चर्किएको हो। प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित उच्च तहका अधिकारीहरू मारिएको दाबी गरिएको छ। त्यसयता थप सुरक्षा अधिकारीहरू पनि लक्षित आक्रमणमा परेका जनाइएको छ।
यस द्वन्द्वका कारण दुवै पक्षमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। इरानतर्फ हजारौँ नागरिकको ज्यान गएको अनुमान गरिएको छ भने इरानी आक्रमणका कारण इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी आधारहरूमा पनि क्षति पुगेको बताइएको छ।
युद्धको दिशा कूटनीतिक समाधानतर्फ मोडिन सक्ने संकेत देखिए पनि क्षेत्रीय स्थायित्व अझै अनिश्चित रहेको विश्लेषण गरिएको छ।