काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ। हिजो घटेको मूल्य आज उल्लेख्य रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ। हिजो भने सुनको भाउ २५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको थियो।
पछिल्ला दिनमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। आइतबार सुन तोलामा ५ हजार रुपैयाँले बढेको थियो भने शुक्रबार ४६ सय रुपैयाँले घटेको थियो। यसअघि बुधबार एकैदिन १३ हजार रुपैयाँले वृद्धि भएको थियो।
इतिहासमै उच्च मूल्य भने माघ १५ गते कायम भएको थियो, जतिबेला सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला १४४ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ।
चाँदीको मूल्यमा पनि अघिल्ला दिनहरूमा ठूलो उतारचढाव देखिएको छ। माघ १८ गते चाँदीको मूल्य १५ सय ६५ रुपैयाँले घटेको थियो भने माघ १५ गते ७ हजार ५०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दर र आन्तरिक मागका कारण सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।