बैंकभित्रै ठगी: कर्मचारीद्वारा मोबाइल नम्बर परिवर्तन गरी १.६५ करोड अनधिकृत ट्रान्सफर

२ हप्ता अगाडि
बैंकभित्रै ठगी: कर्मचारीद्वारा मोबाइल नम्बर परिवर्तन गरी १.६५ करोड अनधिकृत ट्रान्सफर

कपिलवस्तु । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तौलिहवा शाखामा कार्यरत एक कर्मचारीले ग्राहकको खातामा पहुँच बदलेर ठूलो रकम अनधिकृत रूपमा ट्रान्सफर गरेको घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कर्मचारी रिशभ कार्की लाई पक्राउ गरी बैंकिङ कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार उनले बैंकको आन्तरिक प्रणालीमा पहुँच प्रयोग गर्दै केही ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरेका थिए। त्यसपछि आफ्नै नम्बर जोडेर मोबाइल बैंकिङ र कनेक्ट आईपीएस मार्फत १ करोड ६५ लाख रुपैयाँ बराबरको रकम विभिन्न खातामा ट्रान्सफर गरेका थिए। उनले ट्रान्ज्याक्सन अलर्टसमेत नआउने गरी प्रक्रिया मिलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त घटनामा संलग्न कार्कीलाई इलाका प्रहरी कार्यालय पकडी बाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको हो।

हाल उच्च अदालत तुल्सिपुर बुटवल इजलास बाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।